आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

कूलपितृको स्मरणमा तान्द्राङकोट नागभैरवमा ५१ किलोको घण्ट अर्पण 

मध्यनेपाल नगरपालिका ५ पोखरीथोकका गिरबहादुर गुरुङले आफ्नो गाउँ नजिकैको तान्द्राङकोटमा अवस्थित नागैभरव थानमा पुजाअर्चना सहित घण्ट चढाएका छन् । 

गुरुङले पुण्य लाभको कामना सहित पारिवारिक शान्ति, सम्वृद्धि र आफ्ना कूलपितृको स्मरणमा नागैभरवमा ५१ केजी ७ सय ग्राम तौलको घण्ट चढाएका हुन्।

जनैपूर्णिमाको शुभ तिथिमा गुरुङको परिवारले शनिबार विधिवत् पुजाअर्चना गरि सो घण्ट चढाईएको गिरबहादुर गुरुङले बताए। वर्षौंदेखि मन्दिरमा घण्ट चढाउने सपना लिएको र अहिले पुरा भएकोमा धेरै आत्मसन्तोष मिलेको उनले बताए। पोखरामा स्थायी बसोबास गर्दै आएका गुरुङ सँगै आमा सेती गुरुङ, श्रीमति हस्तमाया गुरुङ, दाजु कमल, भाउजु यु माया, भाई मेखबहादुर, बुहारी बिष्णुमाया, दिदीहरु देशीमाया घले, सुकुन्धरा घोदाने, ईन्द्राकुमारी लामा, लगायतका आफन्तजन र ईष्टमित्रहरुको उपस्थितिमा विधिवत् रुपमा घण्ट अर्पण गरिएको थियो। मन्दिर परिसरमा फलामे खम्बा गाढेर घण्ट झुण्याईएको र पुजा गर्न जाने भक्तजन र दर्शनार्थी सबैले सो घण्ट पुजा गर्नुका साथै बजाउन सक्ने गुरुङ परिवारले जनाएको छ।

चौबिसे राज्यकाल अघि नै घले राजाहरुले शासन गरिएको ऐतिहासिक कथन अनुसार तान्द्राङकोटमा प्रथम घलेराजा सुनचङ् राजाका सन्ततिहरु सँग कूल कुटुम्ब जोडिएका मन्त्रीगणका सन्तान आसु र वासु लाम्छाने गुरुङका सन्ततिहरु साँढे गुरुङ हुँदै दामु गुरुङका पनाति, गुञ्जमानका नाति र चुडाबहादुर गुरुङका माईलाछोरा गिर बहादुर गुरुङले घण्ट अर्पण गरेको घण्टमा उल्लेख गरिएको छ। मध्यनेपाल नगरपालिका ५ मा अवस्थित तान्द्राङकोट १५औं शताब्दीको सुरुवात तिरै अन्तिम घलेराजा ताञ्चङको पतन पछि स्थापित शाहवंशीय राज्यकालको अल्पकालिन दरबार भएको ऐतिहासिक कथन रहेको छ। सोहीबेला देखि नै कोटको थान वा नागभैरव थानको रुपमा त्यहाँ पुजा हुन थालेको बताईएको छ। सुरुवातमा वाग्ले थरका ब्राम्हणहरुले पुजा गर्ने र आफ्ना पुर्खाहरु बिरमान गुरुङको परिवार पुजा व्यवस्थापकका रुपमा काम गरेको गिर बहादुर बताउँछन्। सो मन्दिरमा आफ्नो कुलपितृ देखि नै योगदान रहेको र सो बिरासत् जोगाईराख्न पनि आफुले बर्षेनी पुजाअर्चना गर्दै आएको र यसवर्ष घण्ट चढाएको समेत उनले बताए ।

वैदेशिक व्यापार व्यवसायका क्रममा डेढदशक देखि जापनको टोकियोमा बसोबास गर्दै आएका गुरुङ दम्पती केहीदिन अघि नेपाल आएका हुन्। आफ्ना जिजुबाजेको पालादेखि सो मन्दिरमा पुजाअर्चना गर्दै आएकोले कुलपितृ र नागभैरवको आशिर्वादले आफुलाई सुख, सन्तोष र सफलता प्राप्त भएको गुरुङको भनाई छ। नेपालकै मध्यभागमा अवस्थित मध्यनेपाल नगरपालिकाको तान्द्राङटक्सार, सुर्यपाल, रम्घा र समिभञ्ज्याङकै शीरमा रहेको तान्द्राङकोट स्थित नागभैरव मन्दिरमा आफ्नो मनोकांक्ष पुरा हुने मान्यता रहेको छ। धार्मिक तथा ऐतिहासिक स्थल हुँदै पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा समेत विकास भएकाले स्थानीय देखि धेरै ठाउँबाट पुजाआज र घुमफिरको लागि त्यहाँ पुग्ने गरेका छन्।

यसैविच गुरुङले आफ्नो जन्मस्थल पोखरीथोकमा रहेको गुम्बालाई समेत आर्थिक सहयोग प्रदान गरेका छन्। उनले गुम्बाका दैनिक पुजा र अन्य व्यवस्थापकीय पाटोमा टेवा पुर्याउन १० हजार एकसय रुपैयाँ प्रदान गरेका हुन्। गुरुङले गाउँ पुगेर गुम्बामा दर्शन गर्नुका साथै गुम्बा व्यवस्थापन समिति सँग छलफल र अन्तर्कृया समेत गरे। सो अवसरमा गुम्बा प्रतिनिधिले उनी सँगै उनको परिवारलाई स्वागत एवं सम्मान गर्दै आशिर्वाद प्रदान गरेको थियो। 

प्रतिकृया दिनुहोस