दोर्दीको अकबरे खुर्सानी बारीमा बन्दिपुरका जनप्रतिनिधि र कर्मचारी
लमजुङको दोर्दी गाउँपालिकास्थित अकबरे खुर्सानी बारीमा तनहुँ बन्दीपुरका जनप्रतिनिधि र कर्मचारीले अध्ययन अवलोकन गरेका छन् ।
गाउँपालिका अध्यक्ष सुरन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यसहित जनप्रतिनिधि र कर्मचारीले मंगलबार दोर्दीको खुर्सानी बारीमा पुग्नुका साथै छलफल अन्तरक्रियामार्फत खुर्सानी खेतीको अध्ययन अवलोकन गरेका हुन् ।
बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि किसानलाई सहयोग गर्ने नीति लिएको छ । बन्दीपुर गाउँपालिकामा पनि अकबरे खुर्सानी खेती गर्ने योजना अनुरुप अध्ययन अवलोकन गर्दै दोर्दी गाउँपालिकामा गरिएको अकबरे खेतीको अध्ययन अवलोकन गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
टोलीले दोर्दी गाउँपालिका ४, हटिया क्षेत्रको खुर्सानी बारीमा पुगेर अध्ययन अवलोकन गरेका थिए । गाउँपालिका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत आचार्य, वडा नं. १ का वडा अध्यक्ष एवम् प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नं. २ का वडाअध्यक्ष तिलकबहादुर कुँवर, वडा नं. ३ का वडाअध्यक्ष परमेश्वर भट्टराई, पशु विकास अधिकृत मधुविलास न्यौपाने, कृषि प्राविधिक निदेश सुवर्णकारलगायतको टोलीले खुर्सानी बारीको अध्ययन अवलोकन गरेका थिए । यस्तै, किसानका तर्फबाट साना किसान सहकारी संस्था लिमिटेड दोर्दीका अध्यक्ष सुकबहादुर गुरुङलगायत किसानको उपस्थिति थियो ।
टोलीलाई स्थलगत रुपमा गाउँपालिका अध्यक्ष युवराज अधिकारी र गाउँपालिका कृषि शाखा प्रमुख निराजन पौडेल साथै कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दोर्दी गाएँपालिकामा गरिएको खुर्सानी खेतीबारे जानकारी गराएका थिए ।
ददोर्दी गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले करिब ६ सय ५० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेका छन् । यसअघि २० रोपनीमा परीक्षणका रुपमा खुर्सानी खेती गरिएकोमा सफल भएपछि गत आर्थिक वर्षमा गाउँपालिका भरिका किसानले अकबरे खुर्सानी रोपेका थिए । गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले खेर गइरहेको खेतबारीमा अकबरे खुर्सानी लगाएका छन् । अहिले अकबरे खुर्सानीको विक्रीवितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।





प्रतिकृया दिनुहोस