सुन्दरबजार–८ भोटेओडार बालमैत्री र पोषणमैत्री वडा घोषणा
सुन्दरबजार नगरपालिका – ८ भोटेओडारलाई गण्डकी प्रदेशको दोस्रो पोषणमैत्री र बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार एक भव्य कार्यक्रमको आयोजना गरी सुन्दरबजार ८ भोटेओडारलाई एकसाथ पोषणमैत्री र बालमैत्री वडा घोषणा गरिएको हो ।
गत शुक्रबार सुन्दरबजार नगरपालिका २ परेवाडाँडा गण्डकी प्रदेशको पहिलो पोषणमैत्री र बालमैत्री वडा घोषणा भएको थियो । लगत्तै सुन्दरबजार ८ भोटेओडारलाई पनि सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले पोषणमैत्री र बालमैत्री वडा घोषणा गर्नुभएको छ । वडा नम्बर ८ का वडाध्यक्ष बिजेन्द्र थापाका अनुसार, वडाले पोषणमैत्री वडा बन्नका लागि आवश्यक सम्पूर्ण सूचकहरू पूरा गरिसकेको छ । बालबालिका तथा आमाहरुको पोषणस्तर सुधार गर्ने, कुपोषणको समस्या न्यून पार्ने, सुरक्षित पिउने पानीको व्यवस्था गर्ने, सरसफाइ तथा व्यक्तिगत स्वच्छता प्रवर्धन गर्ने लगायतका महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय प्रगति भएपछि पोषणमैत्री वडा घोषणा गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
पोषणमैत्री वडा घोषणा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निरन्तर लागीपरेको वडा कार्यालयले जनाएको छ । वडा भित्रका सबै बालबालिकाको अधिकारको सुनिश्चितता, विद्यालय जाने वातावरणको सिर्जना, बालश्रम न्यूनीकरण तथा बालमैत्री सेवा पहुँच विस्तारमा समेत विशेष ध्यान दिएको वडा कार्यालयले जनाएको छ । नगर प्रमुख कृष्णप्रसाद कृष्णप्रसाद कोइरालाले सुन्दरबजार ८ भोटेओडार गण्डकी प्रदेशको दोस्रो स्थानमा पोषणमैत्री तथा बालमैत्री वडा बन्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । यस क्रियाकलापले अन्य वडाहरुलाई समेत उत्प्रेरणा जगाएको बताउनुभयो । नगरपालिका उपप्रमुख भवानी के.सीले आगामी आर्थिक वर्षमा सुन्दरबजार नगरपालिकाका ४ वटा वडालाई पोषणमैत्री र बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको बताउनुभयो । नगरपालिकाले सुन्दरबजारका सबै वडालाई क्रमशः पोषण र बालमैत्री वडामा परिणत गर्ने योजना अघि बढाएको के.सीले बताउनुभयो ।
पोषणमैत्री र बालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक सूचकहरू पूरा गर्न ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), वल्र्ड भिजन इन्टरनेशनल नेपालले सहयोग गरेको थियो । वडामा आमा समूह, युवा क्लब, विद्यालय, स्वास्थ्य संस्था तथा विभिन्न संघ–संस्थाको सहकार्यमा पोषण र बालअधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुँदै आएका छन् । साथै, स्वास्थ्य परीक्षण शिविर, पोषण शिक्षा तालिम, विद्यालय पोषण बगैंचा, सामुदायिक स्वच्छता अभियानलगायतका कार्यक्रमले पनि महत्वपूर्ण योगदान दिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
घोषणा गर्नुपूर्व भोटेओडारको अकला मन्दिर देखि बजागाजा, प्लेकार्ड, ब्यानर सहित निस्किएको र्याली भोटेओडार बगैचा हुँदै कार्यक्रमस्थल युक्त गुरुङ, कालुकार्की पार्कमा पूगेको थियो । वडा सदस्य अनिता दुलाल, स्वागत गर्नुभएको कार्यक्रममा सुन्दरबजार २ का अध्यक्ष नविनकुमार श्रेष्ठ, ४ का अध्यक्ष कृष्णप्रसाद अधिकारी, ६ का अध्यक्ष दिनेशवावु कोइराला, ७ का अध्यक्ष जयराम रेग्मी, ९ का अध्यक्ष मनराज गुरुङ, स्थानिय समाजेवी धुव्रबहादुर कुँवर, वल्र्ड भिजनको प्रतिनिधि शुक्रराज गुरुङ, बालबालिकाको प्रतिनिधित्व गर्दै वडा स्तरीय बाल सञ्जालका अध्यक्ष शिवानी बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव प्रमिला श्रेष्ठ र भोटेओडार स्वास्थ्यचौकी प्रमुख पवन कुमार गुप्ताले गर्नुभएको थियो ।
घोषणा कार्यक्रममा सुन्दरबजार नगरपालिकाका जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो । घोषणासँगै वडा ८ ले पोषण तथा बालअधिकार क्षेत्रमा उदाहरणीय उपलब्धी हासिल गरेको छ । स्थानीय सरकारको यस्तो कदमले समग्र नगरपालिकामा बालबालिका र आमाको स्वास्थ्य, शिक्षा, पोषण तथा अधिकारका सवालमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने नगरबासीले विश्वास लिएका छन्





प्रतिकृया दिनुहोस