चर्चित महिला फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना
चर्चित महिला फुटबलर सावित्रा भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा स्थापना गरिएको चोकमा साम्बाको स्तम्भ निर्माण गरिएको हो ।
उक्त स्तम्भको सोमबार एक कार्यक्रमकाविच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घ्घाटन गर्नुभएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले “हाम्रो चेली सावित्राले फुटबल खेलको क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुँदा पालिकावासी धेरै हर्षित भएको बताउनुभयो । भण्डारी गाउँपालिकाको मात्र नभएर राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ साम्बा चोक स्थापना गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले सावित्रा भण्डारी जस्ता खेलाडीहरूले राष्ट्रलाई खेलका माध्यमबाट विश्वसामु परिचित गराएको बताउनुभयो । उहाँले राज्यले यस्ता खेलाडीलाई सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उहाँको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने मर्स्याङ्दी गाउँपालिका ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो ।
मर्स्याङ्दी गाउँपालिका ३ का वडा अध्यक्ष दुधमान तामाङले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामायाँ थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रेशम बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्म रानीकुवाका डिएसपी दीपक पुरी, जिल्ला अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइ, वडा अध्यक्षहरु, कार्यापालिका सदस्यहरु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण के.सी, प्रदेश सदस्य जनक श्रेष्ठ, जिल्ला अध्यक्ष सन्देश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
हाल फ्रान्सेली लिग प्रिमियरको एना भान गेङगाङ्पमोँ नामक फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपङ्क्तिमा खेल्दै आउनुभएकी सावित्राले आफ्नो नाममा चोकको नामाकरण गरिएको र स्तम्भ राखिएकोमा खुसी व्यक्त गर्नुभयो । आफ्नो नाममा चोकको नामाकरण गर्ने पालिकाको निर्णयले धेरै खुसी तुल्याएको र यो निर्णय र कामका लागि उहाँले गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
स्तम्भ उद्घाटनका क्रममा साम्बाका बुवा आमा थमबहादुर भण्डारी र मुना भण्डारीलाई सम्मान गरिएको छ । छोरीको नाममा चोकको नामाकरण भएकोमा साम्बाका बुवा थमबहादुरले खुसी व्यक्त गर्नुभयो । वि.सं. २०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित हुनुहुन्छ । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले नेपाली महिला टोलीका लागि हालसम्म ५० भन्दा बढी गोल गरिसक्नुभएको छ । सावित्रा भण्डारी हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुनुहुन्छ । साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुनुहुन्छ ।





प्रतिकृया दिनुहोस