आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दीमा मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन 

दोर्दी गाउँपालिकामा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम सञ्चालन गरिएको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन गरेको हो । 
८ दिन सम्म सञ्चालन हुने तालिमको बुधबार एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले मेलमिलाप सम्बन्धी आधारभुत तालिम पश्चात आफ्ना वडामा हुने घटनाहरुलाई छलफलको माध्यमबाट निरुपण गर्न सकिने बताउनुभयो । 
मेलमिलाप कार्य मार्फत समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको महत्वपुर्ण भूमिका रहने बताउँनुभयो । तालिम सम्पन्न पश्चात् न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने र प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा प्रत्येक वडाबाट छनौट भएर आएका मेलमिलापकर्ताहरु सहभागी भएका छन् । एउटा वडाबाट ३ जना मेलामिलापकर्ता तालिममा सहभागी भएका छन् । 
तालिममा कुल ३१ जना मेलमिलापकर्ता सहभागी रहेको दोर्दी गाउँपालिकाका न्यायिक सहजकर्ता सन्ध्या पौडेलले बताउनुभयो । तालिममा सहभागी भएका मेलमिलापकर्ताले तालिम पश्चात वडामा हुने समस्याहरुलाई छलफलको माध्यमबाट निरुपण गर्न सक्नेछन् । गाउँघरमा सामान्य कुरामा झैँझगडा हुने, विवाद हुने हुँदा त्यस्ता समस्याहरुलाई दुवैपक्ष राखेर निरुपण गर्न सक्ने बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । 
प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरिने र केन्द्र मार्फत मेलमिलाप कर्ताहरुले गाउँमा हुने समस्या निरुपण गर्ने उहाँले बताउनुभयो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, न्यायिक समितिको सदस्य एवं सामाजिक विकास समितिको संयोजक अम्बिका मरहट्टा, प्रशासकिय अधिकृत शशबहादुर पुन, लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका सहभागीहरुलाई अधिवक्ता विष्णुप्रसाद अधिकारी र अर्जुन पौडेलले प्रशिक्षण दिनुभएको छ । तालिम वैशाख ३१ गतेसम्म सञ्चालन हुने दोर्दी गाउँपालिकाका न्यायिक सहजकर्ता सन्ध्या पौडेलले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस