आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

अन्डर १९ पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर–४ ताघ्रिङको पोल्टामा

मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित अन्डर १९ पुरुष तथा महिला फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ताघ्रिङले हात पारेको छ । 
युवा तथा खेलकुद विकास समिति मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा वैशाख १८ गतेदेखि सञ्चालित अन्डर १९ पुरुष तथा महिला फुटवल प्रतियोगितामा वडा नं. ४ ताघ्रिङले दुवै तर्फको उपाधि जित्न सफल भएको हो । वडा नं. ४ ताघ्रिङ र वडा नं. १ घनपोखरा विच भएको पुरुष तर्फको फाइनल खेलमा ४–१ गोल अन्तरले वडा नं. १ लाई हराउँदै वडा नं. ४ ले उपाधि जितेको हो । वडा नं १ घनपोखराले भने उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा खेल अवधिभर ३ गोल गरि वडा नं. ४ का रोहित गुरुङ सर्वाधिक गोलकर्ता, वडा नं. १ का बुद्धि प्रसाद गुरुङ उत्कृष्ट खेलाडी र वडा नं ४ का आशिष गुरुङ उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । 
प्रतियोगितामा प्रथम हुने वडा नं. ४ ताघ्रिङले नगद एकलाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता वडा नं. १ ले नगद ६० हजार रुपैयाँ मेडल र प्रमाण पत्र हात पारेको छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यसैगरी वडा नं. ४ ताघ्रिङ र वडा नं. ५ घेर्मु विच भएको महिला फुटवल प्रतियोगिताको फाइनल खेलमा ० का विरुद्ध ४ गोलको अन्तरले वडा नं ५ घेर्मुलाई हराउँदै वडा नम्बर ४ ताघ्रिङले उपाधि जितेको हो । वडा नं ५ घेर्मुले भने उपविजेतामा चित्त बुझाएको छ । उक्त प्रतियोगितामा खेल अवधिभर ४ गोल गरि वडा नं. ४ का अर्पणा गुरुङ सर्वाधिक गोलकर्ता, वडा नं. ६ को धनकाशी गुरुङ उत्कृष्ट खेलाडी र वडा नं. ४ का प्रिया गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । उनीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 
प्रतियोगिताका विजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र युवा तथा खेलकुद विकास समिति मर्स्याङ्दीका अध्यक्ष खेम घलेले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले फुटवल खेलको विकासका निम्ति र नयाँ खेलाडी उत्पादन गर्ने पवित्र उद्धेश्यका साथ अन्डर १९ फुटवल प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर विविध खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । यसपालि मर्स्याङ्दी गाउँपालिका भित्रकै साथीहरुलाई प्राथमितामा राखेर खेल सञ्चालनमा जिम्मेवारी प्रदान गरिएको गुरुङले बताउनुभयो । खेलको प्रत्यक्ष प्रसारणदेखि खेल सञ्चालनका लागि आवश्यक पर्ने सवै जिम्मेवारी स्थानिय युवाले नै निर्वाह गरेका थिए । युवा तथा खेलकुद विकास समिति मर्स्याङ्दीका अध्यक्ष खेम घलेले प्रतियोगिताका माध्यमबाट छनौट भएका उत्कृष्ट खेलाडीलाई समावेश गरेर मर्स्याङ्दी गाउँपालिकामा उत्कृष्ट फुटवल टिम निर्माण गरिने बताउनुभयो । 
छनौट भएका केही विद्यार्थीलाई गाउँपालिकाले प्लस टु अध्ययनसम्म सहयोग गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव प्रदिप गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ ९ समुह र महिला तर्फ ७ समुह सहभागी भएको युवा तथा खेलकुद विकास समिति मर्स्याङ्दी गाउँपालिका सह–सचिव पुर्णबहादुर गुरुङले बताउनुभयो । खेल मर्स्याङ्दी ७ ङादी खेल मैदानमा सञ्चालन गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस