आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

मर्स्याङ्दी–८ भूलभूलेमा प्रहरीको नागरिक सुनुवाई 

मस्र्याङ्दी गाउँपालिका ८ भूलभूलेमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले सेवा प्रवाहप्रति नागरिकका गुनासो सुन्ने र कार्यालयबाट हुदैँ आएका कार्यहरु र केही कानुनी प्रावधानको विषयमा जानकारी गराउने उद्धेश्य सहित नियमित रुपमा नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
भूलभूलेमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी भएका स्थानीय नागरिकले जनसरोकारका विषयहरु उठान गरेको थिए । नागरिक सुनुवाई कार्यक्रममा बोल्दै मर्स्याङ्दी गाउँपालिका–१ का वडाअध्यक्ष रुद्रमान गुरुङले खुदीमा रहेको प्रहरी चौकीको स्तरोन्नति गरी ईलाका प्रहरी कार्यालय बनाउन माग गर्नुभएको छ । मर्स्याङ्दी गाउँपालिका  लमजुङ र मनाङ जिल्लाको सिमानाका भएकाले पनि यस क्षेत्रमा प्रहरीले निगरानी बढाउनुपर्नेमा  जोड दिनुभयो । 

यसैगरी मर्स्याङ्दी गाउँपालिका–२ का वडाअध्यक्ष चेतमान गुरुङले जिल्ला प्रशासन कार्यालयसँग सम्वन्धित विषयहरु उठान गर्नुभएको थियो । उहाँले नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, लागायतका सेवाहरुमा नागरिकले भोग्नुपरेको हैरानीको विषय उठान गर्दै यस्ता समस्या समाधानका निम्ति जिल्ला प्रशासन कार्यालयले वडावडामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभएको छ । मर्स्याङ्दी गाउँपालिकामा मनोसामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका शर्मिला घिमिरेले मनोसामाजिक तर्फ गम्भिरताकासाथ काम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय आत्महत्याका घटना र मनोरोगी बिरामीको संख्या बढ्दो रुपमा रहेकाले यस तर्फ समयमै ध्यान दिएर काम गर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ । 
कार्यक्रममा अन्य सहभागीले लागुऔषध दुव्र्यसनी, घरेलु हिंसा, घरेलु मदिरा नियन्त्रण लगायतका विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिदिन अनुरोध गरेका छन् । गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले नागरिक अधिकार, महिला अधिकार लगायतका विषयमा सवै क्षेत्रका व्यक्तिहरु लाग्नुपर्नेमा जोड दिनुभयो । 
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले प्रहरीले सम्पादन गरेका महत्वपूर्ण कार्यक्रमको विषयमा जानकारी प्रदान गर्नुभएको थियो । सहभागीको प्रश्नको जवाफ दिँदै प्रहरी नायव उपरीक्षक बोहोराले प्रहरीले नागरिकमैत्री प्रहरी सेवा प्रदान गरिरहेको र जनगुनासोको तत्काल सम्बोधन हुने गरी काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
 प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले जनताको समस्या राष्ट्रसेवकको पनि समस्या भएकाले गम्भिर रुपमा लागेर समस्याको समाधान गर्ने र यसका लागि नागरिक समाजको समेत महत्वपूर्ण भूमिका हुनेमा जोड दिनुभयो । नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, विकास निर्माणका काममा भइरहेका ढिलासुस्ती लगायतका समस्याको तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले विगतका तुलनामा पछिल्लो समय अपराधिक क्रियाकलापमा कमी आएको बताउनुभयो । लमजुङ र मनाङको सिमा नाकामा सिसि क्यामेर जडान गरिएको हुँदा त्यसलाई उच्च निगरानी राख्न र नागरिकमैत्री सेवा प्रवाह गर्न जोड दिनुभयो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी बरिष्ठ नायव निरीक्षक रामचन्द्र के.सीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस