गण्डकी प्रदेश पर्यटनमन्त्री बस्यालद्धारा निर्माणाधीन डा.हर्क गुरुङ पार्क अवलोकन
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले निर्माणाधीन डा.हर्क गुरुङ पार्क अवलोकन गर्नुभएको छ । भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको जन्मस्थल गाउँस्थित मस्र्याङ्दी गाउँपालिका वडा नं. ७ मा निर्माणाधीन पार्क शनिवार स्थलगत अवलोकन गर्नुभएको छ ।
पार्कको अवलोकन गर्दै मन्त्री बस्यालले हर्क गुरुङको जन्मथलोमा पर्यटन प्रवद्र्धन गर्न आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले २०८२ सालको वैशाख १५ गते भित्रमा योजना सहित बजेट माग गनर्, मन्त्रालय आउन प्रतिष्ठानलाई आग्रह गर्नुभयो । साथै हर्क गुरुङको चर्चा तथा स्मरण समेत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले २ वर्षदेखि हालसम्म कुनै बजेट नपरेकाले निर्माणकार्य अघि बढ्न समस्या भएकाले बजेट पारी निर्माण कार्यलाई अघि बढाउन मन्त्री बस्याललाई आग्रह गर्नुभयो । हाल प्रतिष्ठानले उपयोग गर्न पाउने साँढे ४ रोपनी जग्गा मात्र रहेको र समाधीसँगै पार्क निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक रहेको उहाँको भनाई छ ।
त्यस्तै, प्रतिष्ठानलाई ब्यक्तिगत रुपमा सहयोग गर्दै साधरण सदस्यदेखि संरक्षकसम्म बन्नको लागि नाम राख्ने गरेको र सोको लागि १० हजार दिनेलाई साधरण आजीवन सदस्य, २५ हजारदेखि माथि दिनेलाई आजीवन, ५० हजारको सह–संरक्षक, एक लाख दिने ब्यक्तिलाई संरक्षकको नाम राख्ने गरेका प्रतिष्ठानका अध्यक्ष गुरुङले बताउनुभयो । हालसम्म ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको उहाँको भनाई छ ।
समाधीस्थलसँगै पार्क निर्माणका दुई वर्षअघि डिपिआर गर्दा ६ करोड ३२ लाख रुपैयाँ लाग्ने भएको छ । बालउद्यान, चौकीदार घर, पुस्ताकालय, डा.हर्क गुरुङको शालिक, संग्राहलय, डा.हर्क गुरुङका सामग्रीहरु प्रदर्शनकक्ष, सभाहल, फुलबगैँचा, मौलिक गुरुङ घर, चमेना गृहलगायतका संरचना तथा पार्क निर्माण गर्ने उक्त प्रतिष्ठानले जनाएको छ ।
स्थलगत अवलोकन कार्यक्रममा संविधान सभासदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य जमिन्द्रमान घले, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ लगायतले अवलोकन गर्नुभएको थियो ।
मस्र्याङ्दी गाउँपालिका वडा नं. ७ तरांचे ताङ्लीचोकमा डा.हर्क गुरुङ वि.सं. १९९५ पुस २१ गतेका दिन बाबु पारसै गुरुङ र आमा मैँस्योको कोखबाट ठूलाकान्छा छोराको रुपमा जन्मिनु भएका डा.हर्क बहुमूखी प्रतिभाका धनी हुनुहुन्थ्यो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समूदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा.हर्क चढेको हेलिकप्टर वि.सं. २०६३ असोज ७ गते (२००६, सेप्टेम्बर २३) को दिन दुर्घटना हुँदा मृत्यु भएको थियो । उहाँसहित २४ जनाले एक्कै पटक ज्यान गुमाउनु पुगेको थियो ।





प्रतिकृया दिनुहोस