क्व्होलासोँथारमा मेलमिलापकर्ताहरुको तीन दिने पुनर्ताजगी तालिम सम्पन्न
क्व्होलासोथार गाउँपालिकामा सचालित मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । न्यायिक समितिका मातहतमा रहेर काम गर्ने न्यायिक समिति, मेलमिलापकर्ता र वडाअध्यक्षहरुका लागि तालिम सञ्चालन गरिएको उक्त तालिमको मंगलबार समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले तालिमले समुदायमा उत्पान्न हुने विभिन्न प्राकृतिका विपद तथा उजुरीलाई मेलमिलाप गराउन लाग्ने समयको समेत बचत गराउने बताउनुभयो । उहाँले न्यायिक समितिको कामलाई छिटो छरितोको साथै समुदायस्तरमै मेलमिलाप तालिमले टेवा पुग्ने बताउनुभयो । अध्यक्ष गुरुङले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारी विवाद र उजुरीहरुलाई सरल र सहज रुपमा मेलमिलाप गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक गमीमाया गुरुङले समुदायमा आइपर्ने ससाना देवानी प्रकृतिका विवादहरुलाई समुदायमै मिलापत्र गराई न्यायमा पहुँच बढाउनका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । तालिममा सिकेको कुराहरुलाई न्यायिक समिति मेलमिलापकर्ताहरुले समुदायमा आइपरेका विवाद मुद्धाहरुलाई सहजतापूर्वक मेलमिलाप गराउनुपर्ने उहाँको भनाइ छ ।
तालिममा मेलमिलापकर्ताहरु महिला ९ जना, पुरुष ७ जना वडा अध्यक्षहरु ७ जना र न्यायिक समिति सदस्य ३ जना गरी २६ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षक सुमना पौडेल र विनिता गुरुङले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले सहभागिलाई मेलमिलापको आधारभूत चरण, विवाद, मेलमिलापमा वडाको भूमिका र सहजीकरणलगायतको बारेमा जानकारी गराउनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक गमीमाया गुरुङको अध्यक्षतामा भएको सामापन कार्यक्रममा गाउँपालिकाका निर्वमान अध्यक्ष प्रेमबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेलगायतको सहभािगता रहेको थियो । कार्यक्रमको सहजीकरण न्यायिक समिति सदस्य सचिव यज्ञबहादुर चन्दले गर्नुभएको थियो । तालिम क्व्होलासोँथार गाउँपालिकाको आयोजना र ग्लोबल एड्भोकेसी नेपालको समन्वयमा सञ्चालन गरिएको हो । उक्त तालिम आइतबारदेखि वडा नं. ३ घलेगाउँमा सञ्चालन गरिएको हो ।





प्रतिकृया दिनुहोस