आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

बगुमका पहिरोपीडितलाई साउदी अरबबाट सहयोग

बगुमका पहिरोपीडितलाई साउदी अरबबाट सहयोग गत असार ११ गते राती बगुममा पहिरो जाँदा ३७ वर्षिय पञ्चकुमारी गुरुङ, ५ वर्षिया निष्मा गुरुङ, पञ्चकुमारीका ससुरा ७० वर्षिय रुद्रमान गुरुङ साथै छिमेकी ९ वर्षिया इच्छा गुरुङको निधन भएको थियो । पहिरोमा परेर भीमबहादुर घले घाइते भएका थिए ।

गत असार ११ गते रातीको पहिरोबाट मानवीय क्षतिसहित घरबारबीहिन लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमका पहिरो पीडितलाई साउदी अरबमा रहेका नेपालीले सहयोग गरेको छ ।

तमू धीं नेपाल प्रवास शाखा साउदी अरब, रियाद फुटवल क्लवमा आवद्धलगायत लमजुङ साथै लमजुङ बाहिर घर भएका नेपालीहरुले पहिरोपीडितलाई २ लाख ८ हजार ८ सय रुपैयाँ सहयोग गरेका छन् । 
उक्त रकम पहिरोपीडितको घर पुनःनिर्माणका लागि अक्षयकोषमा राख्न आइतबार हस्तान्तरण गरिएको छ । बेंसीशहरमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन समिति संयोजक एवं आदर्श युवा क्लव बगुमका अध्यक्ष जुना घलेलाई हस्तान्तरण गरिएको छ । अध्यक्ष घलेले अक्षयकोषमा हालसम्म करिब १४ लाख रुपैयाँ संकलन भइसकेको बताए । पहिरोपीडित ४ जनाको घर पुनः निर्माण गर्नुपर्नेमा घर पुनःनिर्माणकार्य सुरु भएपछि उक्त रकम पीडितलाई वितरण गरिने उनले बताए ।
उक्त रकम संकलनका लागि सोमबहादुर गुरुङ, मनिप्रसाद घले, प्रवेश घले, टक गुरुङले विशेष भूमिका खेलेका थिए । आइतबार आयोजित कार्यक्रममा साउदी अरबबाट घरबिदामा आएका प्रवेश घले, सोमबहादुरका भाउजू पिपलमाया गुरुङलगायतले क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबिर गुरुङ, उत्तरकन्या समाज बेंसीशहरका अध्यक्ष गंगाबहादुर घलेलगायतको रोहबरमा उक्त रकम राहत संकलन संयोजक घलेलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष गुरुङले पहिरो पीडितको घर पुनःनिर्माणका लागि साउदी अरबबाट प्राप्त सहयोगबाट ठूलो राहत मिलेको बताए । उनले पहिरो पीडितलाई सहयोग गर्ने साउदी अरबमा रहेका सवै नेपाली तथा अभियान सञ्चालन गर्ने अभियान्तहरुलाई धन्यावाद ज्ञापन गरे । उत्तरकन्या समाज बेंसीशहरका अध्यक्ष अध्यक्ष घलेले आर्थिक सहयोग गर्ने सबैप्रति धन्यावाद प्रकट गरे । 
कार्यक्रममा क्व्होलासोथार गाउँपालिका कार्यपालिका सदस्य सुलबहादुर विक, आदर्श युवा क्लवका पदाधिकारी एवं सदस्य, बगुम, घलेगाउँ, फुल्म्रोंलगायतका स्थानीयलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन आदर्श युवा क्लवका सचिव चित्र घलेले गरेका थिए ।
गत असार ११ गते राती बगुममा पहिरो जाँदा ३७ वर्षिय पञ्चकुमारी गुरुङ, ५ वर्षिया निष्मा गुरुङ, पञ्चकुमारीका ससुरा ७० वर्षिय रुद्रमान गुरुङ साथै छिमेकी ९ वर्षिया इच्छा गुरुङको निधन भएको थियो । पहिरोमा परेर भीमबहादुर घले घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस