आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजियो : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशमा केही पनि भएन र केही पनि हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । पुराना दलले केही गरेनन भन्दै आफू स्थापित बन्न खोजेपनि यो परिवर्तनमा नयाँ भन्नेहरुको कुनै भूमिका नभएको उहाँले बताउनुभयो । शुक्रबार मध्यनेपाल नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।  
उहाँले विकास निर्माणमा २०४८ साल अघिको लमजुङ र अहिलेको लमजुङलाई तुलना गरेर हेर्न पनि आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले सडक, पुल, संचार, स्वास्थ्य, शिक्षा, खानेपानीको अबस्था हिजो र आजको अबस्था फरक भएपनि केही भएन भन्ने गलत भाष्य निर्माण गरिएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले नयाँ र आफूलाई बेग्लै हौ भन्नेले आरोप लाग्न साथ कोकोहोलो हाल्ने गरेको बताउनुभयो । 
सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले भन्नुभयो‘ हामी रविलाई फसाउनु पर्छ र धनराज गुरुङलाई जोगाउनु पर्छ भन्ने पक्षमा छैनौ । रविलाई जोगाउनु पर्छ र धनराजलाई फसाउन पर्छ भन्ने पक्षमा पनि छैनौ । जो दोषि छ सबैप्रति छानविन हुनुपर्छ । कानूनी प्रक्रिया अघि बढाउनु पर्छ पाण्डेले भन्नुभयो ।  
नगरप्रमुख रमेशकुमार पाण्डेले पालिकाको आफ्नै भवन बनेसँगै कर्मचारीदेखि सेवाग्राहीलाई सहज भएको बताउनुभयो । भवन नहुँदा सेवाप्रवाह अस्तव्यस्त बनेको थियो, अब नयाँ भवनले यहाँका नगरवासीलाई सहज हुने उहाँको भनाई छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले संघीय सरकार र पालिकाको बजेट गरी ४ करोड ९ लाखमा साढे तीन तले प्रशासकीय भवन निर्माण गरिएको बताउनुभयो ।
नवनिर्मित भवनमा २२ कोठा रहेको र एउटा ३०० जना अट्ने हाल रहेको उहाँको भनाई छ । करिब ५ हजार २१४ वर्गमिटर भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार आरोग्य सुवेदी जेबी ललितपुर कम्पनीले विसं २०७७ पुस १५ गते सम्झौता गर्दै  गत असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । सो अवधिमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । उहाँले नयाँ आफ्नै भवन बनेसँगै तत्कालीन समस्याहरुमा हटेको बताउनुभयो । यस अघि विभिन्न व्यक्तिको ४ वटा घर भाडामा लिएर मासिक १ लाख रुपैयाँ तिर्दै आएको थियो । 
यसअघि एउटै पालिकाको सेवा लिन पनि चार ओटा घर सेवाग्राहीले डुल्नुपथ्र्या, सेवाग्राहीलाई मात्रै नभई पालिकाको शाखाहरू बीच पनि समन्वय गर्न समस्या भइरहेको थियो । यतिबेला नयाँ भवन बनेपनि पशु र कृषिको लागि भने अझै भवन कोठाहरु पर्याप्त नभएकाले पालिका नजिकै अर्को भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ । पशु र कृषि शाखाको लागि एउटा भवन बन्दै गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयोे । संघीय सरकारको बजेटमा अनुमानित ४ करोड हाराहारीमा दुई तले भवन निर्माण भइरहेको र आगामी एक वर्ष भित्रमा सकिने नगरपालिकाले जनाएको छ । नगरपालिका आफ्नै भवन निर्माण भएपछि एउटै भवनबाट सेवा लिन पाउने र सहज भएको भन्दै नगरवासी हर्षित भएका छन् । कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङ, प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, पार्वती तामाङ, नगर उप्रमुख सीता गुरुङ, विभन्नि राजनीति दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी र स्थानीयबासीको सहभागिता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस