आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

वडा कार्यालय पोखरामै पुगेर पसगाउँबासीलाई सेवा प्रदान

लमजुङको क्व्होलासोथार गाउँपालिका ६ को वडा कार्यालय पसगाउँले पोखरामा रहेका गाउँबासीलाई पोखरामै सरकारी सेवा प्रदान गरेको छ ।
बर्खायामको समय गाउँमा आउन नसकेका सेवाग्राहीलाई मध्यनजर राखेर वडा कार्यालयले पोखरामा एक दिने शिविर आयोजना गरेको हो । 
पसगाउँबाट पोखरा झरेका बसेका गाउँलेको समाज पसगाउँ तमू समाजको भवन सेतीनहरमार्गबाट जनप्रतिनिधि र कर्मचारीले गाउँबासीलाई बुधबार सेवा प्रदान गरेको अध्यक्ष मनलाल गुरुङले बताउनुभयो । सेवा प्रवाहमा वडाअध्यक्ष गुरुङ, कार्यालय सहायक चन्द्रप्रसाद गुरुङ, कार्यालय सहयोगी रामबहादुर गुरुङलगायत खटिनुभएको थियो ।
वडा कार्यालयले मालपोत तिरो तिर्ने, सामाजिक सुरक्षा भत्ता नवीकरण र प्रशासनिक कार्य अन्तरगत विभिन्न सिफारिस गरी ५८ जनालाई सेवा प्रवाह गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘बर्खायामको समय छ । बाटो बन्द छ । गाउँलेलाई दुःख दिनु भन्दा हामी आफैं पोखरा पुगेर गाउँलेलाई सेवा दिएका हौं’ वडाअध्यक्ष गुरुङले भन्नुभयो । वडा कार्यालयले पोखरामा रहेका नागरिकलाई पूर्व सूचना दिएर सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नविकरण, मालपोत कर, प्रशासनिक कार्य अन्तरगत विभिन्न सिफारिस साथै जन्म, मृत्यु, विवाह, बसाइराईंलगायत घटना दर्ता गरिएको थियो । सरकारले चालु आर्थिक वर्षका लागि साउन महिनाभित्रमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही नवीकरण गर्न भनेपछि वडा कार्यालय आफैंले सक्रियता देखाएर पोखरामा रहेका नागरिकलाई पोखरा पुगेर सेवा प्रदान गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार बर्खायामको समय गाउँलेलाई दुःख दिनुभन्दा गाउँले भएकै ठाउँमा पुगेर जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले क्व्होलासोथार गाउँपालिकाका प्रायः सवै वडाले पोखरा बसोबास गर्नेलाई पोखरामै वा अन्यत्र बसोबास गर्नेलाई बेंसीशहरमा बोलाएर चालु आर्थिक वर्षको सुरुवाती महिनामा सेवा प्रदान गर्ने गरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस