आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

क्व्होलासोथार गाउँपालिकामा मंगलबार सार्वजनिक विदा

क्व्होलासोथार गाउँपालिकामा मंगलबार सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले शनिबार एक सार्वजनिक सूचना जारी गरी गुरुङ समुदायको साँस्कृतिक पर्व ट्होटेको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।
गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने परम्परा रही आएकोले उक्त पर्वको अवसरमा सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेद्धारा जारी सूचना अनुसार ट्होटे पर्वको दिन मंगलबार क्व्होलासोथार गाउँपालिका कार्यालय र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक), सबै विद्यालयहरु तथा गाउँपालिकाभित्र रहेका बैंक, वित्तिय संस्था लगायत अन्य संघसंस्थाहरु समेतमा स्थानीय विदा दिने निर्णय गरिएको छ ।
गाउँपालिका कार्यालयमा शनिबार बसेको कार्यपालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत वाग्लेले बताउनुभयो । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ट्होटे पर्व गुरुङ समुदायको साँस्कृतिक पर्व भएको र गाउँपालिकाभित्र सवै गुरुङ समुदायका नागरिकको बसोबास रहेकाले विदा दिइएको बताउनुभयो । उहाँले ट्होटे पर्वको अवसरमा गाउँपालिका र देश विदेशमा रहनुभएका सबै नागरिकलाई शुभकामना दिनुभएको छ ।

प्रतिकृया दिनुहोस