क्व्होलासोथार ३, वडा कार्यालयद्वारा बेंसीशहरमा एकीकृत शिविर
क्व्होलासोथार गाउँपालिका ३ को वडा कार्यालयले बेंसीशहरमा एकीकृत शिविरको आयोजना गरेको छ । बुधबार, बिहीबार र शुक्रबार २ सय ६५ जना सेवाग्राहीले सेवा लिएका छन् ।
बेंसीशहर, पोखरा, काठमाडौं, चितवन, नवलपुरलगायत ठाउँका वासिन्दालाई लक्षित गरी बेंसीशहरका एकीकृत शिविर सञ्चालन गरिएको वडाअध्यक्ष आसबिर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार बर्खायाममा गाउँसम्म पुग्नलाई असहज हुने र अन्यत्रबाट बेंसीशहर आउजाउका लागि नियमित रुपमा सवारी साधन सञ्चालन भइरहेकाले बेंसीशहरमै एकीकृत शिविर सञ्चालन गरिएको हो ।
उहाँले शिविर सञ्चालनबारे यसअघि नै सेवाग्राहीलाई खबर गरिसकिएको र तोकिएको ठाउँमा आउन आग्रह गरिएको बताउनुभयो । वडा कार्यालयले विभिन्न ठाउँमा रहेका समाज, टोल तथा व्यक्तिलाई यसबारे जानकारी गराएको र सार्वजनिक सूचना पनि जारी गरिएकाले सेवाग्राही सूचनाको आधारमा बेंसीशहरमा आएर सेवा लिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
शिविरमा जन्म, मृत्यु, विवाह, बसाइराईंलगायत घटना दर्ता, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नवीकरण, जग्गा सम्बन्धी सिफारिस, मालपोत कर भुक्तानी, पेन्सनका लागि सिफारिस साथै अन्य सिफारिसका सेवाहरु प्रदान गरिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि साउन महिनाभित्रमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही नवीकरण गर्न भनेपछि वडा कार्यालय आफैंले सक्रियता देखाएर जिल्ला बाहिरका नागरिकलाई बेंसीशहरमा बोलाएर सामाजिक सुरक्षा भत्ताका लागि नवीकरण, मालपोत कर भुक्तानीलगायत सिफारिस तथा विविधि सेवा प्रदान गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
एकीकृत शिविरमा वडाअध्यक्ष आसबिर गुरुङ, कार्यपालिका सदस्य सुलबहादुर विक, वडा सचिव हर्कबहादुर गुरुङ, वडा प्राविधिक करुणविक्रम महत, कार्यालय सहयोगी होमबहादुर गुरुङलगायत खटिनुभएको छ । सेवाग्राही अझै पनि बाँकी रहेको र एकीकृत शिविर शुक्रबार पनि सञ्चालन हुने वडाअध्यक्ष गुरुङले बताउनुभयो ।





प्रतिकृया दिनुहोस