आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दोर्दी गाउँपालिका ७ फलेनीमा स्वास्थ्य चौकीको भवन निर्माण

दोर्दी गाउँपालिका ७, फलेनीस्थित फलेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको बुधबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको छ ।
संघीय सरकारको विशेष अनुदान र गाउँपालिकाको सहयोगमा आर्थिक वर्ष २०७७–०७८ देखि निर्माण कार्य सुरु गरिएको स्वास्थ्यचौकी भवन निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । स्वास्थ्य चौकीको भवन निर्माण, स्तरोन्नति, मर्मत लगायतका भौतिक संरचना सँगसँगै स्वास्थ्य सेवालाई पनि वढाउँदै लगिएको अधिकारीले बताउनुभयो ।
दूर दराजमा रहेका नागरिकलाई सहज र सरल ढंगबाट स्वास्थ्य सेवा उलपब्ध गराउने राज्यको दायित्व अन्तर्गत स्वास्थ्यको क्षेत्रमा भौतिक संरचना निर्माण सँगसँगै अन्य सेवाहरुमा समेत क्रमशः काम गर्दै आएको उहाँले बताउनुभयो । संघीय संरकारको विशेष अनुदानमा सुरु गरिएको भवनका लागि पर्याप्त बजेट प्राप्त नहुँदा केही समय निर्माण कार्य रोकिन गएको उहाँले बताउनुभयो । फलेनी स्वास्थ्य चौकी, ढोडेनी स्वास्थ्य चौकी, पाचोक स्वास्थ्य चौकी र श्रीमञ्ज्याङ स्वास्थ्य चौकी भवन निर्माणमा पर्याप्त बजेट प्राप्त नभएपछि गाउँपालिकाले नै आर्थिक स्रोत जुटाएर निर्माण कार्य सम्पन्न गर्नुपरेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७–०७८ मा भ्याटसहित ७८ लाख २२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी भैरव–शुभारम्भ जेभीले निर्माण कार्य सुरु गरेको थियो । चालु आर्थिक वर्षमा भ्याट सहित ६४ लाख ७० हजार ७ सय ७९ रुपैयाँ ५७ पैसा लागतमा निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष एवं वडा अध्यक्ष रीसमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा प्राविधिक सन्तोष गुरुङले भवन निर्माण कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यपालिका सदस्य गंगा गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दोर्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ, रोजगार संयोजक धर्मराज गुरुङ, वडा सदस्य मेघराशी गुरुङ, स्वास्थ चौकी प्रमुख रंगिता कुमारी महतोलगायत कर्मचारीहरु, सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु, स्थानीय बुद्धिजीवीहरु लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सुष्मा गुरुङले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस