बुवाको किरियासंगै काम गर्दै दूधपोखरीका लेखा अधिकृत घिमिरे
आर्थिक बर्ष सकिनै लागेको बेला सरकारी कार्यालयहरुमा भुक्तानी माग गर्नेहरुका चाप अत्याधिक छ । वर्षभरी सञ्चालन गरेका योजनाको भुक्तानी गर्नुपर्ने बेला दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरेलाई भने पितृशोक परेको छ ।
कार्यालयका प्रमुखलाई तोक लगाउने र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइ नभ्याइ हुनुपर्ने समय दूधपोखरी गाउँपालिकाका लेखा अधिकृतलाई पितृशोक परेपछि समस्या थपिएको छ । उहाँका बुवा राइनास नगरपालिका १ साहिँलीटारका दुर्गाभक्त घिमिरेको ८२ बर्षको उमेरमा यही असार १९ गते निधन भएको छ ।
बुवाको निधनपछि किरियामा बस्नुभएका लेखा अधिकृत घिमिरे किरियासंगै गाउँपालिकाको काममा खटिनुभएको छ । किरिया कर्मका लागि सरकारी नियम अनुसार १५ दिन विदा पाइने भए पनि लेखा अधिकृत घिमिरेलाई भने शनिबारको दिन समेत फुर्सद छैन । सामन्यतयाः किरियापुत्रीले किरिया कर्मबाहेक अरु काम गर्न नहुने भनिएकोमा घिमिरे भने ल्यापटप, फाइल र प्रिन्टर समातेर कार्यालयका काम गरिरहनुभएको छ ।
लेखा अधिकृतले काम नगरिदिँदा वर्षभरी सञ्चालनमा रहेका योजनाको भुक्तानी रोकिनेमात्रै होइन, रकम नै फिर्ता हुन्छ । गाउँपालिाका कर्मचारीको पारिश्रमिक समेत रोकिन्छ । जनताको सेवालाई धर्म सम्झेर दुःखको बेला पनि घरबाटै काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले कार्यालयको लेखा शाखामा अन्य कर्मचारी नहुँदा बाध्य भएर किरियामा बस्दाबस्दै काम गर्नुपरेको बताउनुभयो ।
कार्यालयको लेखासँग सम्बन्धित सबै काम घिमिरेकै जिम्मामा रहने र कार्यालयमा लेखाका अन्य कर्मचारी नभएकाले पनि बाध्य भएर किरियाको समय लेखा अधिकृत घिमिरेले नै काम गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले बताउनुभयो । प्रविधिको सहयोगले कार्यालयको काम घरबाटै गर्न मिलेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रशासन प्रमुख रमण बरालका अनुसार भुक्तानीका लागि आवश्यक फाइल तथा कागजातहरु कार्यालयले घिमिरेकै घरमा लैजाने गरिएको छ । रोजगार संयोजक रामहरी न्यौपानेले गाउँपालिकाबाट भुक्तानीका लागि आवश्यक कागजातसहितको फाइल राइनासको साहिँलीटारस्थित लेखा अधिकृत घिमिरेको घरमा पु¥याउने गरिएको बताउनुभयो । फाइल र बिल भरपाइहरू हेरेर घिमिरेले इन्टरनेटको माध्यमबाट भुक्तानी गरिरहनुभएको छ । घिमिरेले किरियामा बसेर कार्यालयको काम गरिरहेकाले भुक्तानीको काम नरोकिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताउनुभयो ।





प्रतिकृया दिनुहोस