आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दूधपोखरी गाउँपालिकामा ८१ प्रतिशत योजनाका काम सकियो

दूधपोखरी गाउँपालिकामा चालु आर्थिक वर्षमा कार्यान्वयन हुने ९७ वटा योजनाहरुमध्ये ८१ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । 
चालु आर्थिक वर्षमा सकिएका योजनाहरुमध्ये ७० प्रतिशत योजनाको भुक्तानी भइसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयन हुने ९७ वटा योजनामध्येममा हालसम्ममा ७९ वटा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाले सोंचे अनुरुप योजनाहरुको काम तीब्र रुपमा अगाडि बढेको उहाँले बताउनुभयो ।
सकिएका योजनाहरुमध्येमा ६८ वटा योजनाहरुको भुक्तानी भइसकिएको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाको लागि कूल १० करोड ७० लाख बजेट रहेकोमा ७ करोड २७ लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । 
चालु आर्थिक वर्षमा संघीय समपूरकतर्फ सवैभन्दा बढी २ करोड ६० लाखको २ वटा योजनाहरु रहेकोमा उक्त योजनाको काम भइरहेको छ । प्यारजुङ–पात्ले सडक र लामागाउँ–जोर्ने–सामघरेडी सडक रहेकोमा प्यारजुङ–पात्ले सडकको स्तरोन्नतिकार्य ७० प्रतिशत र लामागाउँ–जोर्ने–सामघरेडी सडकको निर्माण कार्य ५० प्रतिशत सकिएको गाउँपालिकाका इन्जिनियिर आशिककुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार उक्त सडकको नाली बनाउने, ढलान गर्ने, पर्खाल उठाउने, ग्राभेल गर्नेलगायत कामहरु भइरहेका छन् ।
गाउँपालिकातर्फको सवैभन्दा ठूलो ३५ लाख रुपैयाँको योजना सामघडेरी–पोखराटार सडक स्तरोन्नति योजनाको काम सकिएको छ । यसको भुक्तानी हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत गोदारका अनुसार शाखाका कार्यक्रमहरु कार्यान्वयन अन्तिम चरणमा पुगेको छ । 
गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङका अनुसार दूधपोखरी गाउँपालिकामा विकास निर्माणका योजनाहरु तीब्ररुपमा अघि बढेको छ । गाउँपालिकाले तोकिएको समयमा सवै योजनाहरु सक्ने हिसावले अघि बढेको उहाँले बताउनुभयो । गाउँपालिका प्रशासन प्रमुख एवं सूचना अधिकारी रमण बरालका अनुसार गाउँपालिकाले योजना निर्माण र भुक्तानीका कार्यलाई सवै प्रक्रिया पूरा गरेर सहज रुपमा अघि बढाएको छ । कतिपय योजनाहरु सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस