सुन्दरबजारमा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया
सुन्दरबजार नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्वन्धी अन्तरक्रिया गरिएको छ । सामाजिक विकास कार्यालय लमजुङले सुन्दरबजार नगरपालिकाको समन्वयमा सोमबार अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्याक्रमलाई सम्बोधन गर्दै सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले बालमैत्री पालिका निर्माणका लागि नीतिगत रुपमा व्यवस्था गरिएको अनुुरुप गतिविधि सञ्चालन भइरहेको बताउनुुभयो । सुत्केरी र महिलालाई पोषणको व्यवस्था, अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्न पाउने व्यवस्था तथा सबै लक्षित वर्गका अधिकारका लागि नगरपालिका सचेत रहेको बताउनुुभयो ।
कोइरालाले भौतिक विकासले मात्र प्राथमिकता पाइरहेको भन्दै बालमैत्री कार्यक्रम सञ्चालनमा कमीकमजोरी भएकाले बालमैत्री पालिका निर्माणका लागि सबै जनप्रतिनिधि लाग्नु पर्ने आबश्यकता रहेको बताउनुुभयो । बाल अधिकार सुनिश्चित भएमात्र दिगो विकास लक्ष्यमा पुग्न सकिने उहाँको भनाइ थियो । सुुन्दरबजार नगरपालिकालाई २०८३ साल भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको छ ।
सामाजिक बिकास कार्यालय लमजुङका प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेशिसहर नगरपालिकाका कार्यक्रम संयोजक मेघेन्द्र पोखरेलले सहभागिहरुलाई बालमैत्री स्थानिय शासन सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख भवानी के.सी, प्रमुख प्रशाशकिय अधिकृत शिशिर पौडेल, पालिकाका शाखा प्रमुखहरु, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिद्यालयका प्रधानाध्यापकहरु, नगर बाल सञ्जालका प्रतिनिधि विद्यार्थीहरु, कर्मचारीहरु लगायतको उपस्थिति थियो ।





प्रतिकृया दिनुहोस