दूधपोखरी गाउँपालिकाको विकास र समृद्धिमा नागरिकको चासो
दूधपोखरी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले विकास र समृद्धिको माग गरेका छन् । उनीहरुले स्थानीय तह गठन हुनु अघि र हालको अवस्थामा फरक आउन नसकेको गुनासो गरेका छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको अर्धबार्षिक कार्यप्रगतिका बारेमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यको अवस्थामा खासै सुधार आउन नसकेको गुनासो गरेका थिए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो अर्धवार्षिक अवधिमा भएका स्थानीय विकास निर्माण, सेवा प्रवाह र शासकीय काम कारवाहीका सवालमा आम नागरिकका जिज्ञासा तथा सुझावका लागि सार्वजनिक सुनुवाइ गरेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा गाउँपालिका योजना शाखा प्रमुख रमण बरालले अर्धबार्षिक कार्यप्रगतिका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । स्थानीय तह गठन भएको ६ वर्षसम्म पनि गाउँमा विकास निर्माण हुन नसकेको गाउँपालिकाबासीले गुनासो गरेका थिए ।
सहभागिका जिज्ञासामा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाको गतिविधिलाई पारदर्शी र थप व्यवस्थित बनाउँदै आम सरोकारका विषयमा नागरिकलाई पनि जिम्मेवारी बनाउन सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो । सार्वजनिक सुनुवाइबाट आम नागरिकले गाउँपालिकाले गरेका गतिविधि एवं क्रियाकलापको बारेमा थाह पाउने, गाउँपालिकाको समग्र विकासबारे नागरिकले बुझ्न पाउने र नागरिकको रचनात्मक प्रतिक्रिया पाउने भएकाले यसबाट आगामी योजना निर्माण, विकास तथा समृद्धिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
रेडियो मस्र्याङदीको सहजीकरणमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन रेडियो कार्यक्रम प्रस्तोता राजेश थापाले गर्नुभएको थियो । कार्यक्रममा रेडियोका निर्देशक मिना गुरुङले सार्वजनिक सुनुवाइको महत्वबारे जानकारी गराउँदै आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । रेडियोका स्टेशन म्यानेजर सन्देश पौडेलले सार्वजनिक सुनुवाइअघि सेवाग्राहीबाट लिइएको बहिर्गमन अभिमतको नतिजा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस