आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

राइनास नगरपालिकाले भत्ता तीनपिप्लेस्थित बैंकबाटै वितरण गर्ने 

राइनास नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणकार्य बैंकबाटै गर्ने भएको छ । हिमालयन बैंक राइनास शाखाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनपिप्लेस्थित बैंकबाट बैंकिङ प्रणालीमार्फत वितरण गर्ने भन्दै वडा अनुसारको मिति तय गरेको छ ।
बैंकले जारी गरेको सूचना अनुसार वडा नं. १ र २ का लागि १९ गते, २ र ४ का लागि २१ गते, ६ का लागि २२ गते, ७ का लागि २३ गते, ८ का लागि २४ गते, ९ का लागि २५ गते र ५ का लागि २६ गतेको मिति तय गरिएको छ । 
यस सम्बन्धी सूचना राइनास नगरपालिकाले आफ्नो फेसबुकमा पनि राखेको छ । बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने समय तालिका आनुसार आत्यावश्यक लाभग्राहिले आफ्नो भत्ता लिनु हुन जानकारी गराइएको छ । आफ्नो समयानुकूल आर्थिक वर्षको अन्त्य सम्ममा प्राप्त गर्न सक्ने समेत बैंकले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता बैंकमा वितरण हुन थालेकोमा नागरिकले भने असन्तुष्टि जनाउन थालेका छन् । सामाजिक अगुवा कृष्णराज ओलियाले स्थानीय सरकार स्थानीय जनतालाई सर्वसुलभ सेवा प्रवाहको लागि भए पनि सामाजिक सुरक्षा भत्ता बैकबाट मात्रै वितरण गर्ने र अशक्त पनि आफैं बैकमा आउनु पर्ने सूचनाले जनताले असहज महसुस गरेको बताउनुभएको छ ।
उहाँले नगरपालिकमा ३ वटा मोटर रहेको र वर्षमा ४ पटक बैंकका कर्मचारीलाई मोटर सुविधा दिने हो भने पुनः वडामा भत्ता वितरण सकिने उहाँले फेसबुकमा लेख्नुभएको छ । पालिकाको खर्च घटाउने नाममा जहितका संवेदनशील कुरामा हेलच्यक्राइँ गर्नु दुर्भाग्य भन्दै उहाँले जेष्ठ नागरिक, अशक्त र अपांगता नागरिकप्रतिको दायित्व नगरपालिकाले नबुझेको टिप्पणी गर्नुभएको छ ।
राइनास नगरपालिका पूर्व उपप्रमुख धनकुमारी गुरुङले आफ्ना पालमा गाउँगाउँमा बैंक लिएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएकोमा पछिल्लो समय त्यस्तो हुन नसकेको जानकारीमा आएको बताउनुभयो । यसले नागरिकलाई सुःख भन्दा पनि दुःख पाउनु परेको उहाँले बताउनुभयो ।
राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले सामाजिक सुरक्षा भत्ता बैंकमा पठाएपछि नागरिकहरु सवै बैंकमा थुप्रिनुले समस्या परेपछि बैंकबाटै वितरण गर्न लागिएको बताउनुभयो । बैंकलाई गाउँगाउँमा पठाएर भत्ता वितरण गर्ने भनिए पनि नागरिक आफैं बैंकमा आएर लाइन लाग्ने भएपछि गाउँमा नगएर बैंकबाटै भत्ता वितरण गर्ने तयारीमा पुगेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस