मध्यनेपालमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण सुरु
मध्यनेपाल नगरपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय बुटबलको आर्थिक सहयोगमा निर्माण हुने भवनको मंगलबार शिलान्यास गरिएको हो ।
आर्थिक कोरिडोर कार्यालय बुटबलबाट कृषि तथा पशुपन्छी सेवा केन्द्र निर्माणका लागि पालिका छनोट गर्ने क्रममा मध्यनेपाल नगरपालिका छनोट भएको थियो । जसअनुसार नगरप्रमुख रमेशकुमार पाण्डेले सेवा केन्द्र भवनको शिलान्यास गर्नुभएको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय बुटवलमा कार्यरत कृषि अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार आर्थिक कोरिडोर कार्यालय बुटवलले कूल २ करोड ५९ लाख रुपैयाँ लगानी गर्नेछ । नगरपालिकाबाट प्रवाह हुने कृषि र पशुजन्य सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले सेवा केन्द्र निर्माणका लागि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । किसानसम्म सहज र प्रभावकारी ढंगले सेवा सुविधा पुगोस् भन्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
भवनको निर्माण आगामी २०८१ को असार भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिएको छ । कृषि तथा पशुपन्छी सम्बन्धी तालिम सञ्चालनका लागि तालिम हल, माटो परिक्षण प्रयोगशाला, भेटेरीनरी प्रयोगशाला र अन्य आवश्यक सम्पुर्ण सुविधासहितको भवन बन्नेछ ।
ग्रामीण उद्यम तथा आर्थिक बिकास आयोजनाले सेवा केन्द्र निर्माण बाहेक अनुदानको कार्यक्रम पनि सञ्चालन गरिहरेको सुवेदीले बताउनुभयो । उहाँका अनुसार कृषक समूह तथा सहकारीहरुसँग आवद्ध भएर अनुदान दिने प्रक्रिया पनि सुरु भएको छ । र दोस्रो चरणका लागि पनि आवेदन माग गरिएको उहाँले बताउनुभयो ।
भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय बुटवलसँगको सहकार्यले पालिकालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयोजनाको हरेक काममा पालिकाको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भवन निर्माण लगायतका हरेक काम समयमै सम्पन्न गर्न अनुरोध गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस