आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

राइनास नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न

राइनास नगरपालिकाले गत आर्थिक २०७९–०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कार्यान्वयन भएका योजना तथा कार्यक्रमहरुको समीक्षा गरेको छ ।
गत असोज १८ गते बसेको कार्यपालिका वैठकको निर्णय अनुसार कार्तिक २ गते बिहीबार गत आार्थिक वर्षको बार्षिक कार्यक्रमको समीक्षा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य डा. टकराज गुरुङले नगरपालिकाको योजना र कार्यान्वयन चरण सकरात्मक देखिएको भन्दै आगामी योजना तथा कार्यक्रमहरु स्थानीय समस्यालाई समाधान हुने हिसावले तर्जुमा र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 
नागरिकका धेरै माग भए पनि आवश्यकता अनुसार नागरिकले बढी लाभ लिन सक्ने योजनालाई प्राथामिकतामा राखेर कार्यान्वयन प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने र यसका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले राइनासलाई नमुना पालिका बनाउने गरी योजना निर्माण गरिनुपर्ने बताउनुभयो । हरेक हिसावले पालिकालाई नमुना बनाउने र विकासमा छलाङ मार्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने उहाँले बताउनुभयो । वार्षिक समीक्षा कार्यक्रममा विषयगत शाखाका प्रमुख र सम्वन्धित वडा कार्यालयका वडा सचिवहरुले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले गत आर्थिक वर्षमा चालु तर्फ ४० करोड १९ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ३५ करोड ३९ लाख ५५ हजार अर्थात कूल बजेटको ८८ दशमलव ०६ प्रतिशत प्रगति भएको जनाएको छ । पुँजिगत तर्फ २४ करोड ५४ लाख ९५ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा २० करोड ४१ लाख अर्थात ८३ दशमलव १७ प्रतिशत खर्च भएको नगरपालिकाको प्रशासकीय अधिकृत विनम्रता न्यौपानेले बताउनुभयो ।
नगर प्रमुख खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, विषयगत शाखाका प्रमुख एवं कर्मचारी, वडा अध्यक्षहरु, वडा सचिवहरुलगायतको उपस्थिति थियो । 

प्रतिकृया दिनुहोस