आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

लमजुङका स्थानीय तहको स्वास्थ्य शाखामध्ये मध्यनेपाल सवैभन्दा अब्बल

लमजुङमा रहेको ८ वटा स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा लमजुङका स्थानीय तहको स्वास्थ्य शाखामध्ये सर्वोत्कृष्ट भएको छ ।
स्वास्थ्य कार्यालय लमजुङले तयार पारेको स्वास्थ्य विभिन्न सूचकका आधारमा जिल्लाका ७ वटै पालिकाको स्वास्थ्य शाखालाई उछिन्दै कार्य सम्पादनमा मध्यनेपाल नगरपालिकाको स्वास्थ्य शाखा अब्बल देखिएको हो । मध्यनेपाल नगरपालिकाको स्वास्थ्य शाखा गत वर्ष गण्डकी प्रदेशभरिमै उत्कृष्ट भएको थियो ।
स्वास्थ्य कार्यालयले गरेको कार्यसम्पादन मुल्यांकनमा मध्यनेपाल नगरपालिकाको स्वास्थ्य शाखाले ८६ दशमलव २२ प्रतिशत अंक प्राप्त गरेको छ । सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले ७५ दशमलव ३२ अंक प्राप्त गरेर दोस्रो स्थान प्राप्त गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले  ७४ दशमलव ६५ प्रतिशत अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
क्व्होलासोथार गाउँपालिका ७४ दशमलव ४९ अंकसहित चौथो स्थानमा रहेको छ । दूधपोखरी गाउँपालिकाले ७३ दशमलव ३७ अंक पाएको छ । राइनास नगरपालिकाले ७२ दशमलव १२ प्रतिशत अंक प्राप्त गरेको छ । दोर्दी गाउँपालिकाले ७१ दशमलव ८९ प्रतिशत र सवैभन्दा कम सुन्दरबजार नगरपालिकाले ६९ दशमलव ९६ अंक प्राप्त गरेको छ ।
स्वास्थ्य कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट मध्यनेपालको स्वास्थ्य शाखालाई बुधबार अवार्ड र प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ र स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालले मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे र स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेललाई अवार्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख गुरुङले स्थानीय तहमा रहेको स्वास्थ्य सेवा नागरिकको घरदैलोमा पुग्ने सवैभन्दा भरपर्दो सेवा भएकाले यसमा सवै स्थानीय तह अति संवेदनशील हुनुपर्ने बताउनुभयो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले सवै कर्मचारी र स्वास्थ्यकमीृको मेहेनतले स्वास्थ्य क्षेत्र अब्बल भएको र अझै अब्बल भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारीबीच आपसी साथ, सहयोग र समन्वय भएमा सवै क्षेत्र अब्बल बन्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो फेसबुकमा स्वास्थ्य कार्यालयले तयार पारेको मुल्यांकन र तस्बिर राख्दै ‘स्वास्थ क्षेत्रमा लमजुङ प्रथम भएकोमा मध्यनेपाल नगरपालिकाका स्वास्थ क्षेत्रमा काम गर्ने सबै कर्मचारी, जनप्रतिनिधि लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु  । उच्च मनोबलका साथ कार्य गर्न सबैलाई अनुरोध पनि गर्द्छु’ भनी लेख्नुभएको छ ।
बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्यकर्मी बढी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले नागरिकको आधारभूत आवश्यकतालाई पहिचान गरी नागरिकको नजिकै पुगेर सेवा प्रवाह गर्नतर्फ सवै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य कार्यालयले आयोजना गरेको समीक्षा कार्यक्रममा सबै गाउँपालिकाका स्वास्थ्य शाखाले आफूले गरेका कामकारबाहीको पोष्टर सार्वजनिक गरेका थिए । पोष्टर प्रतियोगितामा भने मर्स्याङ्दी गाउँपालिका प्रथम भएको छ । क्होलासोथार गाउँपालिका दोश्रो र दूधपोखरी गाउँपालिका तेश्रो भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस