आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

मध्यनेपाल करापु पोखरीथोक गाउँका घरघरमा खानेपानी सुविधा

मध्यनेपाल नगरपालिका ८ करापु पोखरीथोक गाउँका घरघरमा खानेपानीको धारा निर्माण गरिएका छन् ।
घरघरमा खानेपानीको धारा निर्माण भएपछि गाउँले खुसी भएका छन् । कादुरी एग्रीकल्चर एड एशोसियसन ब्रिटिश गोर्खाज नेपालको सहयोगमा पोखरीथोक गाउँमा खानेपानीको धारा निर्माण भएको हो । गाउँमा ६३ वटा निजी धारा र ४ वटा सामुदायिक धारा गरि ६७ वटा धारा निर्माण गरिएका छन् । खानेपानी आयोजना निर्माण सकिएसंगै करापू पोखरीथोक गाउँका ३ सय २४ जना नागरिक लाभान्वित भएका छन् । 
कूल १ करोड ४ लाख ८५ हजार ६ सय ९३ रुपैयाँ १८ पैसामा निर्माण गरिएको उक्त खानेपानी आयोजनाको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गत बैशाख २२ गते निर्माण सुरु भएको खानेपानी योजना असार ९ गते सकिएसंगै असार १० गते आइतबार हस्तान्तरण गरिएको छ । 
कादुरी एग्रीकल्चर एड एशोसियसन ब्रिटिश गोर्खाज नेपालका डेपुटी डाइरेक्टर मेजर विजयन्त शेरचनले खानेपानी योजनाको उद्घाटन गर्दै स्थानीयलाई हस्तान्तरण गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै शेरचनले जिम्मेवारी बोध गराउन स्थानीयलाई श्रमदानको अवसर पनि दिइएको बताउनुभयो । खानेपानी योजनाको संरक्षण गर्न र मर्मत सम्भार गरी प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो । कादुरीले विशेष गरी खानेपानी, विजुली, बेरोजगारी युवालाई विभिन्न रोजगारमुलक तालिम दिनेलगायत काम गर्दै आएको उहाँले बताउनुभयो ।
कादुरी एग्रीकल्चर एड एशोसियसन ब्रिटिश गोर्खाज नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङले गीत र कवितामार्फत खानेपानी योजनाको सदुपयोग र मर्मत सम्भार गर्न आग्रह गर्नुभएको थियो । ‘हिजो दुःखले पानी खान्थ्यो, पानी भर्दैमा दिन जान्थ्यो, करापु गाउँमा विकास भा’छरे खानेपानी घरघरमै आ’छरे’ जस्ता गीतमार्फत उहाँले सन्देश दिनुभएको थियो । 
कोदिम्रो मुल मुहान रहेको खानेपानी योजनाको रिजर्भवयर ट्याङ्की ५ वटा निर्माण गरिएको छ । योजना निर्मणपछि गाउँमा २ जना अपरेटरलाई तालिम प्रदान गरिएको छ । अपरेटरले पम्पको संरक्षण एवं मर्मत गनुपर्ने छ । घरघरमा खानेपानीको धारा निर्माण भएपछि उद्घाटन तथा हस्तान्तरणको दिन करापुबासी खुसीले नाचजान गरेका छन् । 
कार्यक्रम करापु पोखरीथोक इलेक्ट्रिक पम्प खानेपानी उपभोक्ता समितिका कार्यवहक अध्यक्ष बालकृष्ण गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन चौतारी युवा क्लावका सचिव दिनेश गुरुङले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस