सुन्दरबजार नगरपालिकाको पुँजिगत खर्च ३३.५१ प्रतिशत
सुन्दरबजार नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये चालु खर्चतर्फ ६४ दशमलव ३५ प्रतिशत खर्च भएको जनाएको छ । नगरपालिकाका अनुसार चालुतर्फ ४७ करोड ७० लाख ३७ हजार रुपैयाँमध्ये ३० करोड ७० लाख १० हजार २ सय ८९ रुपैयाँ ५० पैसा खर्च भएको छ ।
पुँजिगततर्फ ३३ दशमलव ५१ प्रतिशत खर्च भएको छ । कूल २१ करोड ४ लाख ७६ हजार ८३ रुपैयाँमध्ये ७ करोड ५३ लाख ७ हजार ८ सय १४ रुपैयाँ खर्च भएको सुन्दरबजारमा आइतबार आयोजित पत्रकार भेटघाटमा नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो । उहाँले कतिपय योजनाको भुक्तानी हुन बाँकी रहेकाले खर्च प्रतिशत काम देखिएको बताउनुभयो ।
सुन्दरबजार नगरपालिकाको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ नगरस्तरीय र वडास्तरीय गरी २ सय २० योजना रहेकोमा उपभोक्ता समितिमार्फत संचालित १ सय ८० वटा योजना सम्झौता भइसकेको छ । अझै ४० वटा योजना सम्झौता भएको छैन । सम्झौता भएका योजनामध्ये ९७ वटा योजना सकिएर भुक्तानी भइसकेको छ । ८३ वटा योजना भुक्तानी बाँकी रहेको नगरप्रमुख कोइरालाले बताउनुभयो । यसमध्ये लागत साझेदारीमा आन्तरिक सडक पिच तथा ढकानका लागि ६ वटा योजना छन् ।
नगरपालिकाले सम्झौता हुन बाँकी योजनाहरुको सम्झौता मिति जेठ १० गतेलाई अन्तिम मिति तोकेको छ । असार १० गतेसम्म भुक्तानीको लागि अन्तिम म्याद तोकिएको नगरप्रमुख कोइरालाले बताउनुभयो ।
सुन्दरबजार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले चालु आर्थिक वर्षमा ८ सय मिटर कालोपत्रे गरिएको बताउनुभयो । ५ सय मिटर सढक ढलान भएको, ५ किलोमिटर सडक ग्राभेल गरेको र ३ किलोमिटर पक्की नाला निर्माण गरिएको उहाँले बताउनुभयो ।
पत्रकार भेटघाटमा उहाँले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबालिका तथा जेष्ठ नागरिक, सामाजिक सुरक्षा, रोजगार सेवा केन्द्रलगायत क्षेत्रमा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेको कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
पत्रकार भेटभाटमा उपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, लेखा अधिकृत नरेन्द्रराज घिमिरेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन उपसविच ठाकुरजी तिवारीले गर्नुभएको थियो ।





प्रतिकृया दिनुहोस