आज : Saturday, July 25, 2026 | २०८३ श्रावण ९ शनिबार

दूधपोखरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

दूधपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ गौंडा प्रथामिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले पालिकाभित्रका खोप लगाउने उमेर समूहका सवै बालवालिकाले पूर्ण खोप लगाएको र आगामी दिनमा पनि कुनै पनि बालवालिका खोपबाट वञ्चित नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गरी प्रत्येक वडाबाट प्राप्त प्रतिवेदनको आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम प्रतिवद्धता घोषणा गरिएको हो । पालिकालाई पूर्ण खोप घोषणका लागि स्वास्थ्यकर्मीले माघ र फागुन महिनामा घरदैलो कार्यक्रम गरी प्रत्येक वडामा सबै बालबालिकाले निर्धारित समयमा खोप पाए नपाएको पहिचान गर्नुका साथै वडा अनुसारको पूर्ण खोप विवरण संकलन गरेका थिए ।
२४ गते भित्र सवै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पालिकालाई घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक बुद्धिबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका १५ देखि ५९ महिनाका ३ सय १५ जना बालबालिकाले सवै खोपको मात्रा पूरा पाएका छन् । जन्मेदेखि १५ महिनाका बालबालिकाले नियमित रुपमा खोप लगाइरहेका उहाँले बताउनुभयो ।
घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, वडा ६ का अध्यक्ष मनिस गुरुङ, प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यय, स्वास्थ्य शाखा संयोजक बुद्धिबहादुर गुरुङ, वडा सदस्यहरु, स्वायमसेविका, स्वास्थ्यकर्मी, खोप लगाउने उमेर समूहका बालवालिकाकाका अभिभावकलगायतको उपस्थिति थियो । 
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा सँगै कार्यक्रमका सहभागिहरुले आगामी दिनमा कुनै अवस्था वा परिस्थितीमा कुनै पनि बालवालिका खोपबाट वञ्चित नहुने भनी पूर्णखोप सुनिश्चता तथा दिगोपना कायमका लागि प्रतिवद्धता सहित हस्ताक्षर समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस