नेपालडाँडा–धमिलीकुवा–बोराङखोला सडक कालोपत्रे सकिँदै
तनहुँको नेपालडाँडा हुँदै राइनास नगरपालिको धमिलीकुवा, बोराङखोलासम्मको सडक कालोपत्रे धमाधम भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत सडक कालोपत्रे भइरहेको हो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार उक्त सडक १० किलोमिटर छ । कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार उक्त सडक सदरमुकाम बाहिर जिल्लाकै पहिलो लामो कालोपत्रे प्रादेशिक सडक हो । सडक कालोपत्रेको काम करिव ७० प्रतिशत सकिएको उहाँले बताउनुभयो । उक्त सडक यसै आर्थिक बर्षभित्र सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
कार्यालयका इन्जिनियर आशिष पोखरेलका अनुसार उक्त सडकको काम २०७६ असोजबाट सुरु भएको हो । चालु आर्थिक बर्ष २०७७÷०७८ मा सकाइने छ । उक्त प्रादेशिक सडक २८ करोड रुपियाँमा सम्झौता भएर काम भइरहेको छ । सडक कालोपत्रेको काम लामा कन्ट्रक्सन कम्पनी काठमाडौं महाराजगंजले गरिरहेको छ । आर्थिक बर्षको अन्तिमसम्म सकाउनुपर्ने भएपनि समय अगावै सकिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रादेशिक सडक निर्माण सम्पनन भएपछि नागरिकलाई यात्राका लागि सहज हुने छ । कच्ची सडकमा ३ घण्टा लगाएर यात्रा गर्नुपर्ने स्थानीयले अव ३० मिनेटमा यात्रा गर्न सक्ने बताएका छन् । नागरिकलाई सहज यातायात सेवा दिन र दैनिकीमा सहज बनाउन प्रदेश सरकारले उक्त योजना ल्याएको हो । पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत करापुटार–डढुवा–साल्मेभञ्ज्याङ–मालिङ–कपुरगाउँ सडक पनि निर्माण भइरहेको छ । सदरमुकामभन्दा बाहिर २० किलोमिटर कालोपत्रे सडक थपिएको कार्यालयले जनाएको छ । यसअघि सदरमुकाम वरवर मात्र कालोपत्रे सडक देखिने गरेकोमा प्रदेश सररकाले ग्रामीण भेगमा पनि कालोपत्रे सडकको योजना सञ्चालन गरेको हो । यसले नागरिकलाई प्रदेश सरकारको कामप्रति सन्तुष्ट भएका छन् ।








.jpeg)

प्रतिकृया दिनुहोस